नेपाली राजदूतावास, क्वालामल्पुरको अत्यन्त जरूरी सुचना !!!

मलेशियामा कार्यरत/बसोबास गर्ने नेपाली नागरिकहरुले मेशिन रिडेबल पासपोर्ट (Machine Readable Passport, MRP) बनाउन आउँदा पुरानो पासपोर्ट र नेपाली नागरिकता पेश गर्नुपर्ने व्यवस्था सबैलाई अवगत नै छ | तथापी, हालका दिनहरुमा केही व्यक्तिहरुले राजदूतावासलाई झुक्याउने गरी नेपाली नागरिकताको नक्कली फोटोकपी बनाई पेश गर्ने गरेको पाइएको छ | त्यस्तो कार्य सरासर गैरकानुनी हो | त्यसरी सरकारी अड्डाको छाप वा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज कीर्ते गर्नेलाई मुलुकी ऐन, २०२० कागज कीर्ते गर्नेको महल अनुसार (कानून बमोजिम) कडा कारवाही हुने व्यहोरा समेत सबैको जानकारीका लागि यसै सूचनाद्वारा सूचित गरिन्छ |

 

प्रायशः मलेशियामा कार्यरत नेपालीहरुको नागरिकताको सक्कल नेपालमा रहेको र नेपालबाट सक्कल नागरिकता मगाउन लाग्ने समयलाई ध्यानमा राख्दै आगामी ०१ अक्टोबर २०१३ देखि मेशिन रिडेबल पासपोर्ट, MRP को आवदेन दिन आउने सबै नेपाली नागरिकहरुले पासपोर्टको आवेदन दिन आउँदा सक्कलै नेपाली नागरिकता लिएर आउनु पर्ने व्यहोरा सबैमा सूचित गरिन्छ | त्यसकारण राहदानी नवीकरण गर्ने चाहने सम्पूर्ण नेपाली नागरिकहरुले आफ्नो सक्कल नागरिकता आफूसंग भए पश्चात मात्र राहदानी आवेदन दिन आउनुहुन समेत राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ |